Tuesday, September 13, 2016

thumbnail

आधुनिक प्रेम

विद्रोहीहरुको आक्रमक कारबाहीलाई मध्यनजर गर्दै तत्कालीन शाही सुरक्षा प्रशासनले देशभर संकटकालको घोषणा गरेको थियो । माओवादीको नाउँमा खाओवादीहरु सक्रिय रहन सक्ने स्थितिमा त्यतिबेला जसले जे गरे पनि माओवादीको नाउँ मुछिन्थ्यो । लुटपाट, हत्या, हिंसा, अपहरणका घटनाहरु सामान्यजस्तै थिए । जनताको जनधनको कुनै सुरक्षा थिएन । कतिबेला कसलाई के हुन्छ थाह हुदैनथ्यो निकै त्रासदीपूर्ण जीवन जिउन बाध्य हुनुपथ्र्यो त्यतिबेला ।

घरको नाजुक आर्थिक स्थितिमा वेरोजगारी समस्याले ग्रस्त भएर उसले सशस्त्र प्रहरी बलमा प्रवेश गरेको थियो । हुर्कदै गरेको प्रेमका मुनाहरुलाई ब्यारेकभित्रको बन्दी जीवनबाट विकसित गराउन त्यतिबेला ज्यादै मुश्किल हुन्थ्यो । बाहिर निस्के विद्रोहीहरुको निशाना बन्नुपर्ने जोखिम थियो । भित्रबाट त्यो सम्भव थिएन । यद्यपि प्रेमका लागि ज्यानै जोखिममा राखेर भए पनि आफ्नी प्राण प्यारी निकट भविष्यकी अर्धांगिनीसँग हरेक शनिबार भेट्न पुग्थ्यो ऊ ।
एकातिर बाक्लो जंगल, शान्त रमणीय चौरका केही रुखहरुले गोप्य जस्तो बनाई दिएको एकान्त त्यो स्थान प्रेम जोडीहरुका लागि एउटा डेटिङ स्थलको रुपमा विकसित हुदै थियो । त्यही स्थल थियो, जहाँ उनीहरु रुखको छेल पारेर सुमधुर प्रेमालाप गर्दै एक अर्कामा लिप्त थिए । अंगालोको न्यानोपनामा ढल्केकी उनको मुहारतिर आएका केशराशी मुसार्दै भन्थ्यो ऊ ।
“...किन तिम्रो यति धेरै मायाँ लाग्छ ? जस्तो जीवन जिउनु परेपनि ज्यानै जोखिममा राखेर भए पनि तिमीलाई नभेटी बस्नै सक्दिन सानु म त । आफू ब्यारेकमा रहे पनि मन त खाली तिमीलाई पछ्याइरहन्छ ।.....................कति अभागी है सानु हामी ?”
“...अँ त है । तर चिन्ता नलेऊ मेरो राज । हामीले समयको प्रतिक्षा गर्न सक्नुपर्दछ । एक न एक दिन प्रतिक्षाको मीठो फल अवश्य स्वाद लिन पाइनेछ । .... म पनि त तिमीप्रति समर्पित भएर आएको छु । ........मलाई पनि एक्लै बस्दा तिम्रो कति याद आउँछ । तिम्रो फोटो हेरेर दिन बिताउनुसिवायः मसँग अर्को उपाय हुदैन त्यतिबेला ।” काखमा पल्टिरहेकी उनी उठेर गाला–गालामा, ओठ ओठमा चुम्बन गर्न थालिन् ।

“..........मेरी काली ! मलाई कति मायाँ गर्छौ हगि !” भन्दै अझ वलिष्ठ अंगालोमा कस्दै चुम्न थाल्यो ।
“....मायाँ मात्रै ? म तिमीलाई ज्यानै दिन सक्छु राज । तिम्रो प्राप्तिका लागि मैले सर्वस्व नै किन त्याग्नु नपरोस् । तिम्रो खुशीका लागि म ज्यानै त्याग्न पनि तयार छु ।”

प्रेमको उन्मादमा अंगालोभित्र बेरिएर यस्तै प्रेमालापहरु हुदै थिए । एकान्तमा रुखहरुको छेलमा एक अर्काका गोप्य शारीरिक मागहरु के के थिए, के के पूरा भए, त्यो प्रेमको समर्पणभित्र उल्लेखनीय भएन ।
आलिंगन र ब्यग्र सन्तुष्टिको चरणमा बेहोसझैं भएर एकअर्कामा पूर्ण लिप्त हुदा समय कतिखेर चिप्लिएर गइसकेछ, पत्तै भएन । साँझ परिसकेको थियो । बिग्रिएका कपडा र केशराशीहरु ब्यवस्थित गर्दै उनीहरु जाने तर्खर गर्दै थिए । अचानक जंगलतिरबाट हतियारधारी जत्था आएर केरकार गर्न थाले । उनीहरु त्रस्त देखिए ।

“भन्, तँ आर्मी होस् ? कि पुलिस होस् ?” छातीको टिसर्ट समाएर एउटाले सोध्यो ।
ऊ केही बोल्न सकेन । चुपचाप रह्यो ।
“ए केटी, भन्, यो आर्मी हो कि हैन ?” पक्रेको उनको हात झट्कारेर अर्कोले सोध्यो ।
उनी डराईन् । एकपटक प्रेमीको अनुहारमा हेरिन् र भनिन्, “हो, तर मलाई केही नगर्नुस् । प्लीज मलाई जान दिनुस् ।”
यति जवाफ आएपछि उनलाई जान दिईयो । उसले उनी गएको एकोहोरो हेरिरह्यो ।
त्यसपछि शुरु भयो, उसमाथि यातना र सोधपुछ । ऊ केही बोलेन । मात्र उनी गइरहेको सम्झिरह्यो । पुगी कि पुगिन भनेर सोचिरह्यो ।
खोला तरेर उनी उकालो चढ्न लाग्दै थिई । गोलीको आवाज सुनियो । उनले अनुमान लगाईं, उसलाई गोली हानेर मारियो । तर उनी दुःखी भइनन् । त्यसैको एकमहिना पछि उनको अर्कै केटासँग प्रेम विवाह भएको सुनियो ।
सर्वत्रापमानित ‘स्मृतिरोगी’

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments