Tuesday, September 13, 2016

thumbnail

लघुकथाः क्रान्तिकारी

-सर्वत्रापमानित ‘स्मृतिरोगी’
ऊ र म एउटै अभियानमा थियौं । क्रान्ति, परिवर्तन र वर्ग संघर्षका बारेमा बताउदै हिड्थ्यौं । जन–समस्या, गरीबी र सामाजिक विभेदको अन्त्य गर्ने आश्वासनमा हामीलाई साथ दिन आह्वान पनि गथ्र्यौं, नभए बन्दुक देखाएर भए पनि साथ दिन बाध्य पाथ्र्यौं । सामन्तवादको विरुद्धमा उत्पीडित जनताका जातीय, वर्गीय, क्षेत्रीय र लैंगिक समानताका हक तथा अधिकारहरु स्थापित गर्ने हाम्रो अभियानमा हरेक बस्तीहरुबाट हामीलाई पूर्ण समर्थन मिल्थ्यो । जनताको साथ, सहयोग र विश्वासले हामीलाई अझ जुझारु भएर अघि बढ्ने हौसला मिल्थ्यो ।

समान विचार र साझा अभियानका ती संघर्षशील सहयात्राहरुमा कहिले भोक–भोकै त कहिले मुसलधारे झरीमा भिज्दै र कहिले पुष–माघीय जाडोमा कठ्यांग्रिदै रात–दिन सँगै लडीबुडी गर्दै क्रान्तिका पाइलाहरुमा अगाडि बढ्ने क्रममा कतिबेला प्रेमका टुसाहरु पलाएछन्, थाहै भएन । दुश्मनहरुको नजरमा विद्रोहीहरु, हामी कतिखेर उनीहरुको निशानामा परिने हो, जीवनको कुनै निश्चितता थिएन । तापनि जनताका बीचबाट हाँस्दै–खेल्दै युद्धभूमिमा होमिदै गर्दा–गर्दै जन–जीवन र जनताका समस्याहरुसँग नजिकबाट परिचित भइसकेका हामीहरुलाई ती सामन्तवाद र शासकको विरुद्धमा ज्यानको कुनै पर्वाह थिएन । हतियारहरुको आडमा जीवन राखेर हाम्रो प्रेम झांगिदै हुर्किरहेको थियो । प्रेमालापहरुमा हामी परिवर्तित समाजको परिकल्पनामा जीवन–संघर्षका कुराहरु पनि गथ्र्यौं । परिवर्तित समाज र जीवनको छुट्टा–छुट्टै मार्गचित्र पनि कोर्न पुग्थ्यौं । तर संघर्ष–यात्राका चरणमा सँगै हिड्दा तत्कालीन समयमा विवाह गर्नुपर्ने आवश्यकता हामीलाई थिएन ।
जव वृहत शान्ति सम्झौतापश्चात भएको संविधान–सभाको निर्वाचनबाट हाम्रो क्रान्तिकारी संगठन हतियार बिसाएर ठूलो पार्टीको रुपमा स्थापित भयो, ऊ सरकारमा पुग्यो भने म गाउँ फर्कन बाध्य भएँ । गाउँमा बस्दा उसको प्रेमले सताउथ्यो । प्रेमको अभावमा म एकान्तमा एकदम तड्पिन्थें । जीवनका गोरेटोहरुमा साँच्चै एउटा सहयात्री (जीवनसाथी) को आवश्यकता पर्दोरहेछ । एक्लै बस्दा मैले त्यही महशुश गर्नथालेको थिएँ । जसका लागि ऊबाट प्रस्ताव आउने आशामा धेरै प्रतिक्षा गरें । उसको र मेरो सम्पर्क पातलिदै गइरहेको थियो, सोच्थें, कार्यब्यस्तताले होला । यता म भित्र–भित्रै उसको प्रेम र साथको परिकल्पनामा झन–झन जलिरहेको थिएँ । प्रेमको तड्पनले उत्कर्ष चुम्न थालेपछि बाध्य भएर मैले नै मुख फोरें । तर त्यो अपेक्षाकृत प्रतिक्रिया थिएन । जन–क्रान्तिका नाराहरु फलाकेर जनवर्गीय क्रान्तिका भाषणहरु गर्दै हिड्ने त्यो मुखबाट आयो, ‘जाति, धर्म, दाईंजो र कुलघरानका प्रसंग अनि स्तर र नैतिकताका कुरा । कारण म एक गरीब दलितकी छोरी थिएँ ।
द्रष्टव्यः काल्पनिकताले कसैको जीवनमा मेल खाएमा संयोग मात्र सम्झनुहोला । मैले कुनै राजनीतिक प्रतिशोधको भावनाले यो प्रयास गरेको होइन । म राजनीतिक भाषा बुझ्ने क्षमता राख्दिन । क्रान्ति र परिवर्तनका कुरा गरेर आफूलाई ‘महान क्रान्तिकारी हुँ’ भन्ने तर ब्यावहारिक रुपमा आफू परिवर्तन हुन नसक्ने या नचाहने केही मित्रहरुप्रति यो शाब्दिक ब्यंग्य गर्ने प्रयास मात्र हो । जसले सिंगो क्रान्ति र क्रान्तिकारी शक्तिलाई नै प्रदुषित तुल्याएको छैन भन्न मिल्दैन । यहाँ सैद्धान्तिक क्रान्तिकारिता हैन, ब्यावहारिक क्रान्तिकारिताको आवश्यकता छ ।

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments